काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सदस्य ऐन महरलाई पार्टीबाट बर्खास्त गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर बर्खास्त गरेको हो।
एमालेले एक सूचना जारी गर्दै केन्द्रीय सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गरेको उल्लेख छ।
बैठकमा सहभागी एक नेताका अनुसार महरको राजीनामा स्वीकृत गरेको नभई उनलाई बर्खास्त गरिएको हो।
‘यौन विचलनका गतिविधि सार्वजनिक भएकाले उहाँ (ऐन महर)लाई बर्खास्त गरिएको हो,’ ती नेताको दाबी छ।
बैठकले केन्द्रीय कमिटीका अर्का सदस्य सिराज अहमद फारुकीलाई पनि बर्खास्त गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको वक्तव्यमा उल्लेख छ।
फारुकीमाथि आर्थिक विचलनको आरोप छ।
बर्खास्त गर्दा कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको बैठकमा सहभागी ती नेताको भनाइ छ।
पार्टीको अनुशासनमा नबस्ने अरु नेतालाई पनि कारबाहीको निर्णय आउन सक्ने उनको भनाइ छ।


