काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले नेपाली महासमिति बैठकमा सहभागी नहुने बताएको छ। नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा ध्यानाकर्षण भएको जानकारी दिँदै प्रेस युनियनले कार्यक्रममा सहभागी नहुने जानकारी गराएको हो।
युनियन अध्यक्ष शिव लम्सालले प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको भन्दै आपत्ति जनाएका हुन्।
‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन,’ अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ।’
उनले प्रेस युनियनको गरिमामाथि गरिएका प्रहारको यथोचित प्रतिवाद गर्न पनि प्रेस युनियनलाई आह्वान गरेका छन्।



