काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षदेखि मन्त्री सम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका छन्।
ललितपुरको गोदावरीमा आजबाट सुरू भएको महासमिति बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्। साथै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए। यस्तै पार्टीको सांगठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने बताएका उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ। मुसाले धेरै बच्चा जन्माउँछ। हात्तिले एउटा जन्माउँछ तर, त्यही शक्तिशाली हुन्छ।’
उनले कांग्रेसमा फेदमा बस्नेले दुख गर्ने टुप्पोमा बस्नेले मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने आवश्यक्ता औलाए। ‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्ने छ। यो हुन नसक्नुभनेको भ्रष्टचार मौलाउनु हो। जबसम्म भूइमा भएकालाई टुप्पोमा पुराउन सकिदैन तबसम्म केही गर्न सकिदैन,’ उनले भने।
उपसभापति गुरूङ्ले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रिय लगायत नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातन्त्र समाजवाद हुनुपर्ने र झु्पडी र महलमा बस्नेलाई जोड्ने भनेको प्रजातान्त्रिक समाजवादलेनै भएको जिकिर गरे। ‘कोरोनाका कारण अस्ताएको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ। परिवर्तन अझै ह्वात्तै फड्को मार्न सकिएको छैन, यसमा क्रोनिक क्यापिटालिजम्ले हो कि भन्ने विषयमा बहस गरपनुपर्दछ। क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन। यसका विरुद्धमा महासमितिले एकमत भएर उभिएर समाधान लगेर जानुपर्दछ,’ उनले भने ।


