काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक दोस्रो दिन (आज) पनि जारी रहने भएको छ। ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने छ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ। विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ।
सभापति शेरबहादुर देउवाले प्रतिवेदन सच्याउन दबाब दिइरहेका छन् भने महामन्त्री थापा प्रतिवेदन नसच्याउने विषयमा अडिक छन्। आज महासमितिमा प्रतिवेदन पेश भएपछि ती प्रतिवेदनमाथि छलफल हुने छ।


