काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि आन्दोलन गर्ने भएको छ। राजसंस्था पुनःस्थापन लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने र आन्दोलन पनि जारी राख्ने राप्रपाले जनाएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो १ः३० बजे प्रधानमन्त्री भेट्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। त्यसअघि राप्रपाले जनप्रदर्शन र आमसभा समेत गर्नेछ।
दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमा गर्ने छ। त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने कार्यक्रम रहेको उनको भनाइ छ। आमसभाकै क्रममा प्रमुख नेताहरू मागपत्र बुझाउन जानेछन्। बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ। राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन्।



