काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कसैले पनि प्रधानमन्त्रीमा तेस्रो पटक शपथ नलिने जिकिर गरेका छन्।
ललितपुरको गोदावारीमा महासमिति बैठकको समापन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महासमिति बैठकले कांग्रेसको एक्जिट पोलिसी पनि पारित गरेको उल्लेख गर्दै उनले एक पटक राष्ट्रपति बन्ने र दुई पटक मात्र प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पनि पारित भएको बताएका हुन्।
‘अब कसैले पनि राष्ट्रपतिमा दोहोर्याएर शपथ लिँदैन। प्रधानमन्त्रीमा कसैले पनि तेहर्याएर शपथ लिँदैन,’ शर्माको भनाइ छ।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गर्दै शर्माले ‘वान, टू, थ्री, फोर’को प्रस्तावसमेत अघि सारेका थिए। एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ भन्ने हो। यसलाई व्यवहारमा अनुशरण गर्न सम्भव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ।
महासमिति बैठकमा शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमा पनि उनले यही नीति पारितका लागि प्रस्ताव गरेका थिए। उनको प्रस्ताव महासमितिले पारित गरेको छ।


