काठमाडौं- सोमबार देखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार साँझ सम्पन्न भएको छ। बैठकले ४ वटा प्रस्ताव पारित गरेको छ। पारित भएका प्रस्ताव मध्येको एक हो- महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदन। शर्माले आफ्नो प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन्।
उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्न प्रस्ताव गरेका छन्। ‘कांग्रेसले यो पद्धतिको अनुशरण आफूले गर्ने छ र, संवैधानिक बस्दोबस्तका लागि प्रस्ताव गर्ने छ,’ उनको प्रतिवेदनमा भनिएको छ। प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्ने महामन्त्री शर्माको प्रस्ताव महासमितिले पारित भएको छ।
शर्माको यो प्रस्तावको पारित भएपछि अर्का महामन्त्री गगन थापा मारमा पर्ने देखिन्छ। महासमिति बैठकबाट चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पारित गराएका थापा अहिले चौथो कार्यकाल सांसद् छन्। उनी २०६४ साल यता लगातार सांसद् छन्। ०६४ सालमा पहिलोपटक समानुपातिक तर्फबाट सांसद् बनेका थापाले त्यसयता लगातार निर्वाचन जित्दै आएका छन्। उनले २०७०, ०७४ र ०७९ मा प्रत्यक्ष सांसद् जितेका छन्। महासमितिले पास गरेको शर्माको राजनीतिक प्रतिवेदन अनुसार थापालाई अर्को पटक सांसद् बन्न रोक लाग्नेछ।
सभापति शेरबहादुर देउवालाई पनि अर्को पटक सांसद् बन्न रोक लाग्नेछ। कांग्रेसमा चार कार्यकाल सांसद् बनेका नेताहरुको संख्या बाक्लै छ। त्यसो त महासमिति बैठकले पारित गरेका प्रतिवेदन एकअर्कासँग मेल खाँदैनन्। कतिपय विषय विरोधाभाषले भरिपूर्ण छन्।
यद्यपि बैठकको समापन गर्दै सभापति देउवाले महासमितिले पारित गरेका प्रतिवेदन केन्द्रीय समितिको बैठकले परिमार्जन गर्ने बताएका छन्।


