काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचनका विषयमा सचिवालयमा छलफल गरेको छ।
बझाङ प्रदेशसभा (क) र इलाम–२ मा प्रतिनिधि सभा निर्चावन हुने भएपछि उसले बझाङका तुलनामा इलामलाई प्राथमिकतामा राखेको हो।
इलामको वस्तुस्थिति बुझ्नका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम घुम्न पठाउने निर्णय गरेको छ। उपनिर्वाचनमा सकेसम्म स्थानीय उम्मेदवार खोज्ने विषयमा बैठकमा छलफल भएको थियो।
बझाङ प्रदेश सभा (क)मा भने उम्मेदवारी दिने/नदिने विषयमा रास्वपा निर्णित छैन। यसअघि प्रदेशसभाका कुनै पनि स्थानमा रास्वपाले उम्मेदवारी नदिएकाले यसपालि दिने नदिने भन्नेमा अन्यौल छ।
यसअघि नै रवि लामिछानेले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश तहको संरचना देशका लागि बोझ भएकाले जतिसक्दो छिटो खारेज गर्नुपर्ने उल्लेख छ।
रविको प्रतिवेदनका साथै देशभरको प्रदेशसभामा एक जनाले मात्र जितेर पनि अर्थ नराख्ने हुनाले उम्मेदवारी दिन नहुने विषयमा छलफल भएको थियो। यद्यपि कुनै पनि निर्णय भने नभएको नेता मनिष झाले जानकारी दिए।
उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ।


