काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश व्यक्त गरेका छन्। आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाइएपछि उनले प्रचण्डप्रति रोष प्रकट गरेका हुन्।
मंगलबार माओवादी स्थायी कमिटीले प्रदेशका इन्चार्जहरूको हेराफेरी गरेको थियो। यसरी हेराफेरी गर्दै ‘प्रचण्ड’ले आफ्ना भाइ नारायणप्रसाद दाहाललाई बागमतीको सहइन्चार्ज बनाएका छन् भने बुहारी बिना मगरलाई सुदूरपश्चिममा सहइन्चार्ज बनाएका छन्।
मंगलबार भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै प्रचण्डलाई चार बुँदे पत्र लेखेका छन्।
‘प्रथम विधान अधिवेशनको दिशानिर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन्।
यस्तै, स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निर्णयमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको उनले बताएका छन्।
‘अध्यक्ष कमरेड, स्थायी समितिको निर्णयले मलाई मेरो राजनैतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु। स्थायी समितिको निर्णवाट मेरो ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइन अन्तरगत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदुरपश्चिमका हजारौँ नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु,’ उनको पत्रमा उल्लेख छ।
माघ दोस्रो साता सुदूरपश्चिम प्रदेश संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेका थिए। माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।
जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ।
यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।



