काठमाडौँ- कोशी प्रदेशको नामकरण भएको वर्ष दिन पूरा भएको छ। गत वर्ष फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राख्ने निर्णय गरेको थियो।
तर कोशी प्रदेशको नामलाई पहिचानवादीहरूले भने स्वीकार गरेका छैनन्। प्रदेशको नाम फर्नु पर्ने भन्दै उनीहरुले सडक संघर्ष गरेको पनि एक वर्ष भन्दा बढी समय भएको छ।
यसबीचमा कांग्रेसले पहिचानवादी शक्तिसँग वार्ता गर्नका लागि भन्दै वार्ता समिति गठन गरी वार्ता गरेपनि ठोस प्रगति भएको छैन। कुनै पनि प्रदेशको नाम फेर्न प्रदेश सभामा कम्तीमा दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था भएकाले सरकारले चाहे पनि नाम फेर्न सहज छैन।
सत्तारुढ नेकपा (एमाले)का सांसद रामबहादुर मगरको प्रस्ताव तथा एमालेकै सांसदद्वय विदुर लिंथेप र निरन राईको समर्थनमा प्रदेश सभा सचिवालयमा दर्ता गरिएको प्रदेश नामकरणको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो।
कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको छ। बैठकमा चार जना सांसद अनुपस्थित थिए।
प्रदेश सरकारका स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सरिता बजगाई मतविभाजनको जनाउ घण्टी बजिसकेपछि ढिलागरी पुगेका कारण प्रदेश सभाभित्र प्रवेश नपाउँदा मतदानमा सहभागी हुनुभएन। कुल ९३ सदस्यीय प्रदेश सभा बैठकमा ८९ जना उपस्थित थिए।
कोशी प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम कोशी राख्ने पक्षमा मतदान गरेको माओवादीले भने दोहोरो चरित्र प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै कोशी प्रदेशमा गरिएको नामकरण आफूलाई चित्त नबुझेको बताएपछि पहिचान पक्षधरले आन्दोलन चर्काएका थिए।
प्रधानमन्त्रीको कुर्सीमा बसेर आन्दोलन चर्काउने अभिव्यक्ति दिने र प्रहरीलाई बल प्रयोग गराउनको भन्दै उनको आलोचना भएको थियो।
यसरी चर्किएको आन्दोलनमा परी पहिचान पक्षधरका कार्यकर्ता लाजेहाङ लिम्बुको गत चैत १० गते मृत्यु भएको थियो। विराटनगरमा चैत ५ गते भएको प्रदर्शनमा उनी घाइते भएका थिए।
कोशी नामकरण गरेको वर्ष दिन पुगेपनि आफूहरूको माग ज्युँका त्युँ रहेको भन्दै पहिचान पक्षधरले प्रदेश नं १ पुन नामाङ्कन संयुत्त संघर्ष समितिले कालो दिन मनाएको छ।
काठमाडौँमा रहेका तर कोशीको नाम फेर्नुपर्छ भन्ने पक्षका व्यक्तिहरूले राजधानीको तीनकुनेमा कालो दिन मनाएका हुन्।
१४ वटा जिल्ला समेटिएको कोशीमा हिमाल, पहाडदेखि तराइसम्मका भूभाग छन्। ८८ वटा गाउँपालिका रहेको यो प्रदेशमा १३७ वटा स्थानीय तह छन्। एउटा मात्र महानगरपालिका रहेको यो प्रदेशमा दुई वटा उपमहानगरपालिका छन्। विश्वकै अग्लो हिमाल सगरमाथा रहेको यो प्रदेशको राजधानी मोरङको विराटनगर हो।
हेरौँ तस्बिरहरू


















