काठमाडौँ- संघीय संसद् भवन परिसरमा प्रवेश गर्दा सरकारले पक्राउ गरी हिरासतमा राखेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई बिहीबार हाजिर जमानीमा रिहा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार पक्राउ गरिएका ४९ जनालाई नै रिहा गरिएको हो।
बिहीबार राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले)की सांसद विमला घिमिरेले सहकारी तथा लघुवित्तपीडितलाई तत्काल रिहा गर्न माग गरेकी थिइन्।
सरकारले कुरा नसुनेपछि लघुवित्त पीडित संसद भवन परिसरमै प्रदर्शनमा उत्रनु परेको उनको ठहर थियो।
‘प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई नि:शर्त रिहा गर्नुपर्छ,’ उनले भनेकी थिइन्।
फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर लघुवित्तका पीडितले नाराबाजी गरेका थिए।
यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
यसरी पीडित संसद भवनमा प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका थिए।
फागुन १५ गते सरकारले सिंहदरबार र संसद भवन आसपासका फुटपाथमा हिँड्न प्रतिबन्ध गरेको थियो। उक्त कदमको सामाजिक सञ्जालमा विरोध भएको थियो।


