काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गरेको छ ।
संसदको शुक्रबार बसेको बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री हराएकाले खोजी गर्न माग गरेका थिए।
‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्यो,’ उनले भने।
दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएका बेला प्रधानमन्त्री भने बेपत्ता भएको उनको भनाइ थियो।
प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरेका थिए।
यसपछि सभामुख देवराज घिमिरेले फागुन २१ गतेको बैठकमा प्रतिपक्षी दलले उठाएका प्रश्नको उत्तर दिन रुलिङ गरे।


