काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन्।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएर छलफल गरेका थिए।
मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा समस्या उत्पन्न भएको तनावका बीचमा देउवाले मन्त्रीलाई बोलाएका हुन्।
देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पारित गराउने विषयमा ब्रिफिङ गरेको एक मन्त्रीको दाबी छ।
‘संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अब बहुमतले पनि निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने विषयमा कुराकानी भयो,’ ती मन्त्रीको दाबी छ।
विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा सोमबार बिहान बस्ने सत्ता गठबन्धनको बैठकले निर्णय लिने उनको भनाइ छ।
देउवासँगको छलफलमा सरकारको नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा अर्थमन्त्री प्रकाशशरण महतले देउवालाई ब्रिफिङसमेत गरेका थिए।
कांग्रेसका मन्त्रीहरूले मन्त्रिपरिषद् पुनर्गठन हुने विषयमा देउवासँग कुराकानी नभएको जिकिर गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ। त्यसअघि बिहान गठबन्धनको बैठक बोलाइएको हो।
मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफल गर्नु, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली दिनमै दोस्रो पटक बालुवाटार पुग्नु र परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण एकाएक रद्द गर्नु जस्ता घटना भएकाले गठबन्धनमा गम्भीर समस्या उत्पन्न भएको देखाएको छ।


