काठमाडौं– हालै बनेको नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागवण्डा पेचिलो बन्ने देखिएको छ। नेपाली कांग्रेसँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार तीन जना मन्त्री नियुक्त गरेका छन्।
तर उनीहरुलाई जिम्मेवारी भने दिइएको छैन। मन्त्रालय भागवण्डा सकिएपछि मात्रै मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीको छ। तर, मन्त्रालयको बाँडफाँट भने सहज भने देखिएको छैन।
खासगरी अर्थ र गृहमन्त्रालयलाई लिएर सत्तासीन तीन घटकबीच हानथाप परिरहेको छ। अझ माओवादी केन्द्रले गृह र अर्थमन्त्रालय मागेको छ।
बालुवाटारमा मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। यस्तै प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रालय आफैंसँग राख्ने प्रयास गरिरहेका छन्। तर अर्थमन्त्रालयमा एमालेले पनि दाबी गरिरहेको छ। एमालेले विष्णु पौडेललाई अर्थमन्त्री बनाउन चाहेको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयलाई आफ्नो बटम लाइन बनाएको छ। उपप्रधान तथा गृह सहित चार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन रास्वपाले गृह मन्त्रालयलाई बटमलाइन बनाएको एक नेताले जानकारी दिए।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि रास्वपाले मागेको छ।


