काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन्।
बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएकाले अब मिलेर अघि बढ्न आग्रह गरेका हुन्। देउवाको प्रस्तावमा नेपालले ठोस निर्णय दिएका छैनन्।
बुधबारै दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा देउवाको प्रस्तावबारे जानकारी गराउने र बैठकको निर्णयअनुसार अघि बढ्ने कुरा अध्यक्ष नेपालले सभापति देउवालाई बताएका थिए।
‘आजको बैठकमा कुरा राखेर छलफल गर्छौं। के हुन्छ अनि मात्रै भन्न सकिन्छ,’ माधव नेपालको भनाइ उद्धृत गर्दै नेकपा एसका नेताले भने। प्रचण्डले धोका दिएकाले ‘उता’को गठबन्धनमा नजान देउवाको आग्रह थियो।
मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
एकीकृत समाजवादी केही वर्षदेखि कांग्रेससहितको गठबन्धनमा थियो। भेटवार्तामा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। यसपछि नेकपा एस र कांग्रेस प्रधानमन्त्री प्रचण्डसँग रुष्ट छन्।
माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासका लागि देउवा नेपाल निवासम्म पुगेको आकलन गरिएको छ।
केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहेको छ। तर कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएपछि ओली र प्रचण्ड जसरी पनि नेपाललाई आफूहरूसँगैको गठबन्धनमा समावेश गर्न चाहन्छन्। तर प्रचण्डले धोका दिएकाले उनीसँग थप सहकार्य गर्न नसिकने बताएका नेपालले मंगलबार मात्र ओली र प्रचण्ड घरै पुगेपछि पुनर्विचार गर्ने अवस्थामा पुगेका थिए। तर लगत्तै देउवाले भेटेकाले उनलाई थप असमञ्जस सिर्जना भएको छ। उता नेकपा एसभित्रै सम्मानित नेता झलनाथ खनाल भने ओली र प्रचण्डले बनाएको जसपा र रास्वपाको गठबन्धनमा सामेल भएर सरकारमा जानपर्ने पक्षमा छ।
नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुङ्गो लगाउन केन्द्रीय सचिवालय बैठक बोलाएको हो। पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको छ।


