काठमाडौँ- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार आयोगले रेशमलाई अस्वीकृत गर्दै यसअघिकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको हो।
‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार अयोग्य पाइएको हुँदा अध्यावधिक नगर्ने र पुरानै कायम गर्ने निर्णय भएको छ,’ सहसचिव यज्ञ भट्टराईले भने।
नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो।
महाधिवेशनको निर्णयअनुसार विवरण अद्यावधिक गर्न नाउपाले आयोगमा जानकारी पठाइएको थियो।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार नगरी श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको हो।
रेशम चौधरी कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट माफी पाएकाले उनलाई अध्यक्षमा अयोग्य बनेको भन्दै आयोगमा उजुरी परेको थियो।


