काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि उपप्रधानमन्त्री बनेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले यादव र जसपाकै नवलकिशोर साहलाई मन्त्रीमा नियुक्त गरी शपथ दिलाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिइएको छ।
योसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ।
यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा माओवादीका नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा एमालेका रघुवीर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीमा रास्वपाका रवि लामिछाने छन्।
साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
योसँगै मन्त्रीको संख्या २२ पुगेको छ।
संविधानअनुसार प्रचण्डलाई अझै ३ जना मन्त्री थप गर्न पाउने सुविधा छ।
गठबन्धनमा आबद्ध हुने दलको संख्या थप हुन आएमा बाँकी मन्त्री पनि पूर्ति गर्ने तयारीमा प्रचण्ड छन्।














