काठमाडौँ- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग लिखित सहमति नगरी विश्वासको मत दिन नसकिने निष्कर्ष निकालेको छ। सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
आफूहरूले उठाएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिखित सहमति गरे मात्र उनलाई विश्वासको मत दिन सकिने अडान राख्ने निष्कर्ष संसदीय दलको बैठकले राखेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए। यस्तै, फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पनि आफ्नो पार्टीले भनेका कुराहरूमा प्रधानमन्त्रीले लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाइ छ।
‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ। हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने मात्र राष्ट्रिय सभामा भोट दिनसक्छौँ। प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ,’ चौधरीले भने, ‘उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ। उहाँमै भर पर्छ। सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न।’
दाहाल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना मन्त्रीले शपथ लिइसकेका छन्।


