काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई उनको पक्षमा मत दिन ह्विपसमेत जारी गर्ने निर्णय लिएको हो।
दाहाल नेतृत्वको सरकारमा जसपाका अध्यक्ष उपेन्द्र यादव अन्तिम वरीयताका उपप्रधानमन्त्री छन्। यादवको वरीयता रवि लामिछानेको भन्दा पनि पछिल्लो स्थानमा राखिएपछि पत्रकारले गरेको जिज्ञासामा उनले आफूलाई वरीयताले फरक नपार्ने बरु काम गरेर देखाउने बताएका थिए। सरकारमा सहभागी दलको हालको अवस्था हेर्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सांसद संख्याको आधारमा उपप्रधानमन्त्रीको वरीयता निर्धारण गरिएको देखिन्छ।
यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै जसपाकै नवलकिशोर साहलाई वनमन्त्री छन् भने दीपक कार्की राज्यमन्त्री छन्।
प्रधाननमन्त्री दाहालले फागुन ३० गते प्रतिनिधि सभामा विश्वासको मत दिनका लागि प्रस्ताव गर्दैछन्। दाहालको पक्षमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एस छन्। यी दलको समर्थन रहेकाले दाहालले विश्वासको मत पाउन सहज छ।
उता नेपाली कांग्रेसले भने दाहाललाई विश्वासको मत नदिने र प्रमुख प्रतिपक्षी दल बन्ने निर्णय गरिसकेको छ। यसअघि कांग्रेससँग सत्ता साझेदारी गरेका दाहालले राष्ट्रिय सभाको अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई निर्वाचित गराउन एमालेलगायतसँग मिलेर नयाँ गठबन्धन बनाएका हुन्।


