काठमाडौँ- नेपाली कांग्रेसले सत्ताबाट बहिर्गमनको कुनै गुनासो आफूहरूमा नरहेको प्रष्ट पारेको छ।
प्रतिनिधि सभाको बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद बद्री पाण्डले यस्तो उल्लेख गरेका हुन्।
‘सत्ताबाट बाहिरिनुको कुनै गुनासो हामीमा रहेन। चुनावको म्यान्डेट खण्डित गरिएको कुरा प्रष्ट पारिसकेपछि मूल्यांकनको जिम्मा इतिसहासलाई सुम्पन चाहन्छौँ,’ उनले भने, ‘हाम्रो आवाजलाई सत्ताबाट बहिर्गमनको चस्माबाट नहेरिदिन आग्रह गर्न चाहन्छु।’
यसअघि बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदले उठेर विरोध गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले पाण्डेलाई बोल्नका लागि समय दिएका थिए।
पाण्डेले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका थिए। ‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने।
सहकारी पीडितहरु आन्दोलनमा रहेको उल्लेख गर्दै उनले सहकारी पीडितको माग सम्बोधनबारे प्रकाश पार्न उनले गृहमन्त्री लामिछानेलाई प्रश्न गरे।
‘सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ?,’ उनले थपे, ‘कतै तपाईंको पोजिशनलाई रक्षाकवच बनाएर एक/दुई करोड मात्रको अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौं अबौंको माछाहरु उम्काने प्रपन्चको तपाईं हतियार त बनिरहनुभएको त छैन ? मित्र रवि लामिछानेलाई यो सुझाव दिनु मितवत कर्तव्य नै ठान्दछु।’
यी समग्र विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसको माग छ। यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने उनले उल्लेख गरेका थिए।







