काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन्।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक–पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो।
यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ। संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ।
यसअघि प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको थियो।


