काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कांग्रेस सत्तबाट बाहिर पुगेकोमा चिन्ता लागेकाले रुँदै बसेको टिप्पणी गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले सिंहबारे कटु टिप्पणी गरेका हुन्।
‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन्। तपाईंहरुले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो उहाँको,’ ओलीले भने, ‘अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको। कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभाबाट मनोनित गरेर पठाउँथ्यो होला। सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन्।’
नेपाली कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन रहेका बेला सिंहकी पत्नीसमेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्ने सहमति भएको थियो।
जीवनभर कम्युनिस्ट भनेको के का लागि रहेछ भनेर बुढेसकालमा सिंहले पुष्टि गरेको ओलीको टिप्पणी छ।
अब दुर्गा पौडेललाई राष्ट्रिय सभा सदस्यमा मनोनित नगर्ने ओलीले प्रष्ट पारेका छन्।


