काठमाडौँ- अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ। आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिए। उनले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताए। प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताए।
इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्यको निर्वाचन वैशाख १५ गते हुँदै छ। निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुने छ। आयोगले चैत दोस्रो साता नै उपनिर्वाचनका लागि दुवै क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गर्ने छ। चैत २२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ। त्यसअघि निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापनका लागि खर्चको अख्तियारी पठाइने प्रवक्ता पौडेलले बताए। इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
दुवै क्षेत्रमा उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि मौज्दात सामग्रीबाट नै पूर्ति गर्न प्रयासरत रहेको प्रवक्ता पौडेलले बताए। उनले भने, ‘सकभर निर्वाचन हुने जिल्लाबाटै मौज्दात सामग्रीको स्थिति बुझ्ने छौँ। त्यतिले नभए छिमेकका जिल्लाबाट वा अन्य विधिबाट आयोगले व्यवस्थापन गर्ने छन्।’
उपनिर्वाचनमा कुल २० दल सहभागी हुँदै छन्। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ २० दल र प्रदेश सभा सदस्यतर्फ १९ दलले भाग लिने गरी दल दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मात्र भाग लिने छ। लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले भाग लिने छैनन्। उपनिर्वाचनमा भाग लिने दललाई निर्वाचन आयोगले चैत ५ गते निर्वाचन चिह्न प्रदान गरिसकेको छ।
आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवारको सङ्ख्या अनुसार नै मतपत्रमा निर्वाचन चिह्न राखिने छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छापिने छ। निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको अन्तिम नामावली चैत २७ गते प्रकाशित हुने छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिइने छ।


