काठमाडौँ- नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ। २०८१ असार दोस्रो सातासम्मका लागि सम्झौता भएको हो।
सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
त्यसमध्ये ५०० मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिनेछ। अहिले नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ।
एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ।
भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् खरिदका लागि नेपालले २०७८ वैशाखमा अनुमति पाएको हो। यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्छ।
पछिल्लो पटक गतवर्ष नवीकरण गरिएको अनुमतिको म्याद आगामी आइतबार सकिने अवस्थामा पुगेको थियो।
अर्को वर्षका लागि अनुमति नवीकरणका लागि नेपाल सरकारले ताकेता गर्न थालेको पनि तीन महिना भइसकेको थियो।
तीन महिना ताकेता गर्दा पनि भारतले नेपालसँग तीन महिनाका लागि बिजुली दिने सम्झौता गरेको हो।


