काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ,’ उनले भने, ‘त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’
सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्ति र अर्थसँग जोडिएको प्रधानमन्त्रीको ठहर छ। ‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’
सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताए।


