काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन्। जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका हुन्।
‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ। भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।
बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने बताए। चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने उनले बताए।
नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे। ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो।


