सिरहा- सिरहाको लहान नगरपालिकाले मोतिविन्दु पहिचान भएकालाई निशुल्क शल्यक्रिया गर्ने भएको छ। नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा लहान–२४ मा आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
उक्त आँखा शिविरमा दुई सय ९७ जनाले आँखा जाँच गराएका छन्। जसमध्ये ९८ जनाको आँखामा मोतिविन्दु भेटिएको छ। मोतिविन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।
नगर प्रमुख चौधरीसहित उपप्रमुख रामचलितर महतो, वडाअध्यक्ष रासलाल रायलगायतले आँखा शिविर कार्यक्रम निरीक्षण गरेका थिए। नगरपालिकाले गत आर्थिक वर्षमा पनि एक हजार ९१ जनालाई निःशुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया गराएको थिया। गतवर्ष सात हजार भन्दा बढीले आँखा जाँच, उपचार र औषधि पाएका थिए।


