काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा ५ पटकको च्याम्पियन मुम्बइ इन्डियन्स आईपीएल २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ।
सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो। जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो।
जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे। यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए।
मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए। त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।
मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए। तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए।
इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए। पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए।
राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए।
यस सिजन देखी रोहित शर्मालाई हटाउदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो। गुजरात टाइटन्स छाडेर मुम्बइ आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ।
आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ। राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ। चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।


