काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले २ जना प्रदेश अध्यक्षलाई पार्टीबाट निष्काशन गरेकी छन्।
गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन्।
पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट गरेको आरोपमा उनीहरूलाई निष्काशन गरिएको पत्रमा उल्लेख छ।
सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ।
रञ्जिता वर्तमान सत्ता गठबन्धनका पक्षमा छिन्। उनका पति रेशम त्यसको विपक्षमा छन्।
यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो।
रेशम पक्षबाट कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए। लगत्तै रेशमले रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रिया दिँदै पार्टी विभाजनको संकेत दिएका थिए।


