काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन्।
मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै एकल प्रदर्शन गरेपछि नेपालले यस्तो जवाफ फर्काएका हुन्।
पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्नका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जान नहुने धारणा राखेका हुन्।
नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे।
नेपाली राजनीतिकर्मीहरूको आचरण सही नभएको बताएका उनले राम्रो मानिस कार्यकारी नभएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने ठोकुवा गरे।
‘हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ। अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन। आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ,’ उनले भने, ‘कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ। त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरूसँगका कुराहरू पनि। यी सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ।’ अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।
उता समाजवादी मोर्चाको कार्यक्रम सुरु हुनुभन्दा केही घण्टा पहिले मात्र धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका थिए।
२०८४ को निर्वाचन अघि नै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।
काठमाडौं आएको मौकामा साम्पाङले बिहानै सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका थिए।
‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्बिरमा उनले फेसबुकमा अपडेट गरेका छन्।
केही दिनयता साम्पाङ धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौँमा छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटिसेका छन्।


