इलाम- प्रतिनिधि सभा अन्तर्गत इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका डम्बर खड्काले उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारको संख्या ८ पुगेको हो।
कांग्रेस उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग १४४ मतले पराजित भएका थिए।
यसअघि एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन्।
मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बू र पहिचानवादीका तर्फबाट डेकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिएका छन्।
रास्वपाका मिलन लिम्बूले भने केन्द्रीय उपसभापति डीपी अर्याललाई पर्खिरहेकाले उम्मेदवारी दर्ता गराउन बाँकी छ।


