बुटवल- लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएर तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन्।
अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन्। रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए।
बाँकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्थामन्त्री थिए।
सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ५ राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदसमेतको समर्थनमा महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
लुम्बिनीमा नेकपा एस, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदलाई पनि मन्त्री बनाउने तयारी मुख्यमन्त्रीको छ।



