काठमाडौँ- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले धरानमा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।
राष्ट्र बैंकको विराटनगर कार्यालयका निर्देशक इन्द्रा चम्लागाईं मैनाली, ब्रिटिस गोर्खाज नेपालका भेटेरान सर्भिस प्रमुख मेजर मानबहादुर गुरुङ र बैंकका उपप्रमुख कार्यकारी अधिकृत गोरख राणाले संयुक्त रूपमा शाखा उद्घाटन गरेका थिए।
कार्यक्रममा डीसीईओ राणाले धरान शाखाबाट ग्राहकलाई डिजिटल बैंकिङको अनुभवसहितको सेवा दिइने र देशका अन्य भागमा पनि शाखा सञ्चालनमा ल्याइँदै आएको बताए। बैंकको उद्देश्य देशको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान दिनु रहेको उनको भनाइ थियो।
धरानको मुकुम्लुङ कम्प्लेक्समा खोलिएको नयाँ शाखाबाट मोबाइल बैंकिङ र डिजिटल मार्केटिङ प्रडक्टलाई परिस्कृत गर्दै ग्राहक–केन्द्रित वित्तीय गतिविधि अगाडि बढाइने बैंकले बताएको छ।
बैंकले विश्वव्यापी मापदण्डअनुरुप कार्यप्रणाली अवलम्बनका साथै कर्मचारीलाई काम गर्ने नयाँ शैली अँगाल्न प्रोत्साहन गर्दै आएको छ।


