काठमाडौँ- सभामुख देवराज घिमिरेले ४ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
सोमबार दिउँसो सभामुखको कार्यालयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षमा रहेका ४ दलसँग छलफल गरेका हुन्।
छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्। यसका साथै ती दलका प्रमुख सचेतकहरू पनि छलफलमा सहभागी छन्।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने विषयलाई ‘बटमलाइन’ बनाउने निर्णय गरिसकेका छन्।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठलेले यस्तो निष्कर्ष निकालेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका थिए।
‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो। सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ।’
संसदीय छानबिन समितिका विषयमा बैठक एकमत रहेको थापाको भनाइ छ।
कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो।
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको कांग्रेसले बताउँदै आएको छ।


