विराटनगर- कोशी प्रदेशमा एमाले–माओवादीसहितका दल वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्।
मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको दाबी गर्दै वैकल्पिक सरकार बनाउन सोमबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका हुन्।
निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ।
गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्यसमेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको जिकिर गरिएको छ।


