काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने निर्णय गरेको छ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित ठहर गरेको जानकारी दिए।
‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं। त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं,’ उनले भने, ‘आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतिले।’
कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न पनि कांग्रेसले सरकारसँग माग गर्ने निर्णय गरेको छ।


