काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा विरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेको गर्यै गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
मंगलबार बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सुशीला थिङलाई बोल्न समय दिएका थिए।
उनले नेपाली कांग्रेस संसदीय दलले गरेको निर्णय सुनाउँदै गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेकी थिइन्।
तर कांग्रेसका मागलाई सरकारले वास्ता नगरे त्यसबाट आइपर्ने अवस्थाको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिएकी थिइन्।
थिङपछि रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि सभामुखले समय दिएका थिए। तर कांग्रेस सांसदहरू उभिएको उभिएकै गरेर विरोध गरिरहे।
सभामुख घिमिरेले बारम्बार सांसदलाई दायित्व सम्झाउँदै बस्नका लागि आग्रह गरिरहे। तर कांग्रेस सांसदहरू बसेनन्। अन्तमा घिमिले १:१५ बजे १५ मिनेटका लागि बैठक स्थगित गरे।


