काठमाडौँ- अब कनेक्ट आईपीएसमार्फत सोझै नेपालका कुनै पनि बैंक खातामा रकम माग गर्न सकिने भएको छ। कनेक्ट आईपीएसले जुनोको अन्तरदेशीय रियल टाइम (तत्कालै प्राप्त गर्न सकिने) भुक्तानी फिचर प्रयोग गरी यस्तो सेवा सञ्चालनमा ल्याएको हो।
यसका लागि कनेक्ट आईपीएसमा रेमिट रिक्वेस्ट नामक फिचर थप गरिएको छ। वेबसाइट र मोबाइल एप दुवैमा उपलब्ध यो फिचरभित्र गइसकेपछि जुनो रिक्वेस्ट टु यूएसएमा गएर अमेरिकाबाट रेमिट्यान्स तथा अन्य किसिमको भुक्तानीका लागि अनुरोध पठाउन सकिने बताइएको छ।
यो फिचर प्रयोग गरी अमेरिकामा रहेका आफन्तबाट रेमिट्यान्स अथवा निर्यात गरिएको वस्तु तथा सेवाको भुक्तानी बापतको भुक्तानी त्यहाँ रहेका ग्राहकबाट स्थानीय बैंक खातामा प्राप्त गर्न सकिनेछ।
यसअघि परम्परागत तवरमा गरिने यस किसिमको रकम ट्रान्सफर तथा भुक्तानीका लागि अमेरिकामा रहेका पक्षले नै अग्रसरता देखाउनु पर्ने हुन्थ्यो।
अब भने यहाँ नेपालबाटै त्यसका लागि प्रक्रिया सुरु गर्न सकिने भएको हो।
प्रयोगकर्ताले यसका लागि अमेरिकामा रहेका आफन्त तथा ग्राहकको भीपीए (भर्चुअल पेमेन्ट एड्रेस) प्रयोग गर्नुपर्ने हुन्छ। जुनोमार्फत अमेरिकामा अनबोर्ड भएका ग्राहकको ईमेल आईडी वा मोबाइल नम्बर उल्लेख गरेर रकमका लागि अनुरोध पठाउनु पर्ने हुन्छ।
अन्तरदेशीय भुक्तानीको हकमा रिक्वेस्ट टु पे (पैसा माग्ने)सुविधा यो नै पहिलो भएको ठमेल रेमिट तथा जुनोका संस्थापक बालकृष्ण जोशीले दाबी गरे।
जुनो अमेरिकामा स्थापना गरेको फिनटेक कम्पनी हो भने ठमेल रेमिट नेपालस्थित जोशीकै रेमिट्यान्स कम्पनी हो।
नेपाल क्लियरिङ हाउस (कनेक्ट आईपीएस) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधानले यो सुविधा राष्ट्रिय भुक्तानी पूर्वाधार (एनपीआई) मा नै इनेबल (उपलब्ध) गराइएको जानकारी दिए।
उनका अनुसार एनपीआईको यो एपीआई प्रयोग गरी नेपालमा सञ्चालित जुनसुकै बैंक तथा डिजिटल वालेटले अमेरिकासँगको अन्तरदेशीय भुक्तानी (रिक्वेस्ट टु यूएसए) सेवा उपलब्ध गराउन सक्नेछन्।


