काठमाडौँ- संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आज हुँदै छ। उपाध्यक्षका लागि मंगलबार २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभाको उपाध्यक्षको लागि नेकपा एमालेबाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएका छन्।
एमालेकी घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन्।
यस्तै, नेपाली कांग्रेसकी पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन्। तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो।
एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन्।


