काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी नेकपा एमालेकी विमला घिमिरेलाई समर्थन गर्ने निर्णय गरेको छ।
यसअघि एकीकृत समाजवादीले उपाध्यक्षमा दाबी गरेपनि उम्मेदवारी भने दिएको थिएन।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने निर्णय भएको जानकारी दिए।
एमालेले आफूहरूसँग कुनै परामर्श नगरी उम्मेदवारी घोषणा गरेको र उम्मेदवार खडा समेत गरेको भन्दै एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए।
तर आफ्नो पार्टीमा एमाले उम्मेदवारलाई समर्थन गर्नुपर्ने दबाब थेग्न नसकेपछि नेपाल एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्ने निर्णयमा पुगेका हुन्।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए।
एमाले, माओवादी र एसको समर्थन पाएपछि घिमिरेको जित लगभग सुनिश्चित भएको छ।
राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उम्मेदवार छिन्।
उपाध्यक्ष पदको निर्वाचन आज हुँदैछ ।


