काठमाडौं- एमाले सांसद विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।
घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत प्राप्त भएको र उक्त मत तत्काल कायम सदस्य संख्याको बहुमत भएकाले घिमिरे निर्वाचित भएको घोषणा अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए।
५९ सदस्य कायम राष्ट्रिय सभामा ५५ जना उपस्थित रहेका थिए। प्रस्ताव पारित गराउनका लागि बहुमत सांसद अर्थात् कम्तीमा ३० जनाको समर्थन चाहिन्छ।
घिमिरेको विपक्षमा १६ मत परेको थियो।
घिमिरेलाई एमाले, माओवादी, नेकपा एसलगायतका दलले समर्थन गर्दा कांग्रेस र लोसपाले भने विपक्षमा मतदान गरेका थिए।
कांग्रेस र लोसपाले पुडासैनीलाई समर्थन गरे पनि जितका लागि आवश्यक मत पुडासैनीले पाउन सकिनन्।
पुडासैनीको पक्षमा १६ मत पर्दा विपक्षमा ३९ मत परेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले घोषणा गरेका थिए।
पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत भएपछि एमालेकी घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।


