काठमाडौँ– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन्। च्याउ टिप्न गएका तीन बालक घाइते भएको डोल्पा प्रहरीले जानकारी दिएको छ।
घाइते बालकहरूको उमेर १२ वर्ष, १३ वर्ष र १० वर्ष छ। घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका बालकलाई डढेलो भेटेको थियो।
घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दुनै ल्याइएका उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउने प्रयास गरिएको छ।
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार जना सैनिक गम्भीर घाइते भएका थिए।
४ जना घाइतेमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको हो भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। एक जना घाइतेको कीर्तिपुरमा उपचार भइरहेको छ।


