काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन्। चैत २३ गते मुख्यमन्त्री बनेका उनले आज दिउसो १ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।
८७ सदस्यीय प्रदेश सभामा महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् तर ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको नेकपा एस र स्वतन्त्रका सांसदहरुको मत नपाए विश्वासको मतमा बहुमत पुग्दैन।
सरकार गठन हुनुअघि नै दलहरुको बीचमा भएको सहमति कार्यान्वयन नभएको भन्दै साना दलहरुको घुर्कीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले सशंकित बनाएको छ।
केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एस, जसपाले मात्रै होइन प्रदेशमा सहकार्य गरेको नाउपा र स्वतन्त्रका सांसदहरुले पहिले मन्त्रीको ग्यारेन्टी नभए विश्वासको मत दिन नसकिने शर्त तेर्साएपछि मुख्यमन्त्रीलाई संकट परेको हो।


