काठमाडौँ- हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले चौथो संस्करणको एक्स्पोको तयारी पुरा भएको बताएको हो।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ।
नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठुलो सम्भावनाबारे ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।
हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा र युवा पुस्तालाई हाइड्रोसम्बन्धी कार्यमा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने छन्। यी दुवै विधाका प्रतिस्पर्धाका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ।
त्यस्तै गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी र्यालीसमेत आयोजना गरिएको छ।


