काठमाडौँ- सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा डा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनित गर्न सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि कांग्रेससहितको गठबन्धनको सरकार रहँदा राष्ट्रपतिबाट मनोनित सदस्यको कोटा जनमोर्चाकी दुर्गा पौडेललाई छुट्याइएको थियो।
गठबन्धन फेरिएसँगै अन्जानले बाजी मारेकी छन्।
को हुन् डा. शाक्य?
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई इजरायलका लागि राजदूतमा नियुक्त गरेको थियो।
ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो।
शाक्य एमाले विदेश विभाग सदस्यसमेत हुन्।
शाक्य यसअघि इजरालयका लागि नेपाली राजदूतमा नियुक्त भएकी थिइन्। शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन्।
शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ।
उनले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छिन्।
‘नेपाल चाइना रिलेसन’, ‘नेपाल इन्डिया रिलेसन’लगायत पुस्तकको सम्पादनसमेत गरेकी छिन्।
शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभवसमेत छ।
शाक्यले गाएको ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित छ।
उनले नेपाल टेलिभिजनमा समाचार प्रस्तोताको अनुभव पनि सम्हालेकी छन्।


