काठमाडौँ- विक्रम संवत्को पात्रोअनुसार आज (शनिबार)देखि नयाँ वर्ष सुरु भएको छ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।
विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।
नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।
नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा गत साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नयाँ वर्षदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले अर्बौं लगानी रहेको ठमेल क्षेत्रको व्यापार– व्यवसायलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


