काभ्रे- आँगनमा बम राखेर बुद्धचित्तको बोट काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार एक जना र शनिबार राति थप एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो।
आँगनमा चार वटा घरेलु सकेट बम राखेर त्रास सिर्जना गरी रातको समयमा अज्ञात समूहले बुद्धचित्तको बोट काटेको थियो।
उक्त रूखमा फल्ने बुद्धचित्तका दाना वार्षिक तीन करोड रूपैयाँमा सन्दीप त्रिपाठीलाई बिक्री गर्ने गरी सम्झौता भएको बताइएको छ।
शेरबहादुर काठमाडौँ आएको मौका छोपी बुद्धचित्त काटिएको थियो।


