काठमाडौँ- उच्च अदालत पाटनले सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा गौशाला २६ ले जन्म दर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएको छ।
उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलले केही वकिलको बहस सुने पनि मुद्दालाई हेर्दाहेर्दैमा राखेनन्। २ जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गरेका थिए।
गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न उच्चले आदेश दिएको हो। साथै २०७५/०९/१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न आदेशमा भनिएको छ।
आदेशमा लेखिएको छ, ‘गौशाला २६ ले जन्ममिति २०६२/०२/१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९/०३/१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला।’
स्मरणीय छ कि जिल्ला अदालतमा तादी गाउँपालिकाले २ पटकसम्म गौशाला २६ को जन्मदर्ताबारे पत्राचार गरिसकेको थियो। जिल्ला अदालतले फैसलामा गौशाला २६ नाबालिग नरहेको ठहर्याएको छ।


