काठमाडौँ- मधेश प्रदेश सभामा पुनः विवाद भएको छ। १० मिनेटको लागि स्थगित भएको प्रदेश सभा बैठक ५ घन्टापछि सुरु भएपछि हानाहान भएको हो।
यस्तै, प्रदेश सभाका कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामेरा पनि तोडफोड भएको छन्।
एक प्रदेश सांसदका अनुसार सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो। आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो।
लामो समय स्थगित भएर सदन सुरु भए पनि जनमतको माग सम्बोधन नभएपछि उसले फेरि सदनमा विरोध गर्न थाल्यो। यहीबिच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेस गर्न खोजेकाले जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो। यही बेला तानातान मात्रै होइन, हातपातसमेत भएको ती सांसदले बताए।
विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गरेको थियो। बैठक पुनः १० मिनेटका लागि स्थगित भएको छ।


