काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को बहुमत सांसदहरुले कैलाश चौधरीले नेकपा एसका दीर्घराज सोडारीलाई मुख्यमन्त्री बनाउने गरी गरेको हस्ताक्षर कीर्ते भएको आरोप लगाएका छन्।
कैलाश संसदीय दलको नेता नभएको भन्दै उनले कीर्ते गरेको भन्दै प्रदेश प्रमुख नाजिर मियाँलाई पत्र बुझाएका हुन्।
एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्तिका लागि पेस भएको दाबीमा नाउपा संसदीय दलको नेताका रुपमा कैलाशले हस्ताक्षर गरेका छन्।
नेकपा एमाले, माओवादी केन्द्रको समेत समर्थनमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरिसकेका छन्।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्, जसमध्ये ५ सांसदले प्रदेश प्रमुख मियाँलाई बुझाएको पत्रमा संसदीय दलको नेता घनश्याम चौधरी नै भएको बताएका छन्।
चौधरीसहित खुसीराम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरि र लक्ष्मणकिशोर चौधरीले मियाँलाई पत्र बुझाएका हुन्।
‘नागरिक उन्मुक्ति पार्टीको दलको नेता भन्दै माननीय प्रदेश प्रमुखलगायत अन्य निकायमा कहीं, कतै, कसैबाट पत्राचार गरिएमा त्यो अमान्यमात्रै होइन, कीर्ते हो,’ उनीहरूले बुझाएको पत्रमा भनिएको छ।
आफूहरूको समर्थन सोडारीलाई नभएको समेत प्रदेशप्रमुखलाई बताएका छन्।
केन्द्रमा गठबन्धन फेरिएसँगै नाउपामा विवाद छ। बहुमत सांसद पार्टी संरक्षक रेशम चौधरी पक्षका छन् र कांग्रेस सरकारलाई साथ दिएका थिए।
तर नाउपा अध्यक्षसमेत रहेकी रेशमकी पत्नी रञ्जिता श्रेष्ठले भने सोडारीलाई समर्थन गरेकी छन्।



